इतिहासलाई गिज्ज्याइरहेको त्रिचन्द्र, भूगोलबाट हराएर इतिहासमा मात्रै सीमित हुने डर
त्यहाँ पुग्दा त्यहाँ १०,००० विद्यार्थी अध्ययनरत छन् भनी पत्याउन गाह्रो पर्छ बरु कयौं वर्षदेखि खाली छोडिएको भवन हो भन्दा नयाँ मान्छेले शंका नगरी विश्वास गर्लान्।
आज हामी विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसमा पुगेका थियौँ। नेपालको पहिलो यस क्याम्पसले एक शताब्दी लामो गौरवपूर्ण इतिहास बनाइसकेको छ। अहिले क्याम्पस भौतिक रूपमा भने जीर्ण अवस्थमा छ र देख्दा लाग्छ क्याम्पसको जीर्ण अवस्थाले यसको आफ्नै इतिहासलाई गिज्ज्याइरहेको छ। यसलाई जतिसक्दो छिटो ठीक नगरे अब हाम्रा सन्ततिले त्रिचन्द्र कलेज यहाँ थियो रे भनेर सुन्न मात्रै पाउने छन् , यो जिउँदो इतिहास भूगोलबाट हराएर इतिहासमा मात्रै सीमित हुने डर पैदा भइसकेको छ।
माथि तस्बिरमा देखाइएको सरस्वती सदन जहाँसम्म नेपालकै पहिलो आरसीसी ढलान भएको भवन हो । सोही भवनबारे भैरव रिसालले रमाइलो किस्सा लेखेका छन्, ‘सरस्वती सदनको प्रवेशद्वारमाथि बाछिटा छेक्ने ढलान बनाइएको थियो । नेपालमा त्यसबेला सिमेन्ट कल्चर भित्रिइसकेको थिएन । तसर्थ, त्यो ढलान खस्ला र टाउको फुट्ला भन्ने त्रासले ढोकाभित्र पस्दा जहिले पनि विद्यार्थी दौडन्थे रे ।’
दुर्भाग्य भनौँ, विद्यार्थी भित्र छिर्न हतारो गर्ने त्यो ट्रेण्ड त्रिचन्द्रमा अझै रोकिएको छैन । फरक यत्ति हो, भैरव रिसालले भनेझैँ हिजो सिमेन्ट कल्चर नबुझेर विद्यार्थी दौडन्थे, आज भत्किएर खस्ला भन्ने डरले दौडन्छन् । कारण, २०७२ सालको भूकम्पले त्रिचन्द्रको भवन क्षत्विक्षत् बनाएको छ ।
राज्यसत्ता चलाइरहेकालाई यसको पुनःनिर्माणमा कुनै ध्यान छैन । भूकम्पले भत्काएका यस्ता शैक्षिकक्षेत्रका संरचना राज्यको उपेक्षामै परिरहेका छन् । जबकी सोही समयमा भत्किएको त्रिचन्द्रनजिकैको धरहराजस्ता संरचना पुनर्निर्माण भएर पनि उद्घाटन भइसके । यता कलेज भवनको भने बिजोक स्तिथि छ। भुइँ लेउले ढाकेको छ । चारैतिरबाट झार र जंगलले घेरिएको छ ।
भौतिक संरचनाको सकसबाट निस्किएर त्रिचन्द्रको शैक्षिक गुणस्तरलाई मात्र हेर्दा पनि सन्तुष्ट हुने ठाउँ देखिँदैन । राजनीतिक खिचातानीले गर्दा यस्ता गौरवशाली संस्थाको साख गिर्दो छ । चाहे विद्यार्थी संगठन हुन् या प्राध्यापक, राजनीतिक दलको आडमा कलेजभित्र मौलाउँदै गएको अराजकता नै यसको कारक हो ।
यही क्याम्पसमा पढेका हजारौं विद्यार्थीहरू देश विदेशमा महत्वपूर्ण ओहदामा पुगेका छन् । तत्कालीन राजा महेन्द्र देखि लिएर पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल साथै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा समेत क्याम्पसका विद्यार्थी हुन् । उनीहरूलाई पनि आफू अध्ययन गरेको धरोहरलाई सम्झिने फुर्सद कहाँ होला र ? नत्र यस शिक्षाको मन्दिरको यो हालत हुने थिएन होला।
बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ल, मोहम्मद मोहसिन लगायत प्रतिभाहरूलाई दीक्षित गराएको यस क्याम्पस अहिले गाँजाको अखडा बन्दै गएको छ। आज हामी त्यहाँ पुग्दा बार्दली र चौर पछाडि विद्यार्थीहरू गाँजा माड्दै गरेको देख्यौ।
२०७२ को भूकम्पले क्षति पुगेपछि तीनतले पुरातात्विक भवन झन् जीर्ण भयो तर ‘रातो स्टिकर’ टाँसिएको भवनको जीर्णोद्धार कार्य सरकारी प्राथमिकतमा परेन । पुनर्निर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने भनेको थियो । तर काम अहिलेसम्म अघि बढेको छैन ।
पाँच विद्यार्थीबाट पढाइ सुरु गरेको यस क्याम्पसमा अहिले करिब १०,००० विद्यार्थी अध्ययनरत छन्। तर त्यहाँ पुग्नेलाई त्यहाँ त्यत्रो विद्यार्थी अध्ययनरत छन् भनेर पत्याउन गाह्रो पर्छ। कयौं वर्षदेखि खाली छोडिएको भवन भन्दा नयाँ मान्छेको कुनै शंका नगरी विश्वास गर्छ।